प्यारा साथीहरु, शुभचिन्तकहरु तथा सहकर्मीहरु,
क्लारिसा परियोजनामा काम गर्न पाउनु मेरो लागि गर्वको विषय हो । क्लारिसा एक अद्वितीय सहभागीतामुलक अनुसन्धानमा आधारित परियोजना हो । क्लारिसाको मूख्य उद्देश्य प्रमाणित तथ्यहरुको आधारमा गहन खोज तथा अनुसन्धान गरी रचनात्मक समाधानका उपायहरुको पहिचान गर्ने रहेको छ । यस परियोजनाले विभिन्न किसिमका निकृष्ट प्रकारका बालश्रममा सम्मिलित बालबालिका तथा किशोरकिशोरीहरुको सहभागीता सुनिश्चित गरी उनीहरुबाट आएका रचनात्मक समाधानका उपायहरुद्वारा बालश्रम न्यूनीकरणका लागि भूमिका खेल्नेछ । यो परियोजनाको ढाँचाबाट के कुराले बालबालिकाहरु निकृष्ट प्रकारका विभिन्न श्रम गर्न बाध्य हुन्छन् र समाधानका लागि के कस्ता रचानात्मक समाधान उपायहरु अवलम्बन गर्न सकिनेछ भन्नेबारेमा विभिन्न सरोकारवाला तथा बालबालिका स्वयंको अुनभवहरुबाट नै प्रमाण जुटाइने छ ।
विभिन्न निकृष्ट बालश्रमका प्रकारहरुमध्ये नेपालमा यस परियोजना विशेषतः वयस्क मनोरञ्जन क्षेत्रमा रहेका बालबालिका तथा किशोर किशोरीको अवस्थामा केन्द्रित रहनेछ । पछिल्लो १५ वर्षमा वयस्क मनोरञ्जन क्षेत्रमा व्यापक विस्तार देखिएको छ । यस्तो हुनुमा कुनै एक विषेश कारण मात्र नभएर विभिन्न कारणहरु जस्तै, राजनीतिक अस्थिरता, देशभित्र तथा अन्तरदेशिय बसाईसराई, प्राकृतिक प्रकोप, आर्थिक संकटको चरमावस्था रहेका छन् । यस्तै बढ्दो प्रविधीको विस्तार र तिनमा बालबालिका तथा किशोरकिशोरीहरुको सहज पहुँच पनि एक प्रमुख कारण हो । यसकारण विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुको गहन अध्ययन, अनुसन्धान तथा समीक्षा पश्चात् नेपालमा यो परियोजनाको परिकल्पना वयस्क मनोरञ्जन क्षेत्र र यससँग जोडिएर आउन सक्ने विभिन्न प्रकारका निकृष्ट किसिमका बालश्रममा केन्द्रित रहेर गरिएको छ । यो परियोजनाको प्रमुख सार भनेको नै सहभागीतामुलक कार्य अनुसन्धानमा बालबालिका तथा सरोकारवालाहरुमाझ सहजीकरण गर्नु हो । जसमा जीवनकथा संकलन, कथाको विश्लेषण, हट्स्पट, आसपासका क्षेत्र तथा सुकुम्बासी बस्ती सहित स्थान पहिचान तथा विश्लेषण गरी कार्य अनुसन्धान प्रक्रिया सम्मिलित छ । यो प्रक्रियामा सामाजिक अवस्था, बाल विवाह, मानव सांङ्गलो, काम गर्ने वातावरण, ऋण दिने साहुकारहरु, बालबालिकाका सवालमा काम गरिरहेका संघ संस्थाहरु लगायतको विश्लेषण गरिनेछ । त्यसपश्चात यस परियोजनामार्फत विभिन्न प्रकारका अपांगता भएकाहरुसहितको समावेशी सहभागीता सुनिश्चित गर्दै बालबालिका तथा किशोरकिशोरी, तिनका परिवार र समाजबाट कुनै पनि निकृष्ट प्रकारका श्रममा प्रेरित गर्ने कार्यमा प्रतिवाद गर्न सक्नेगरी हस्तक्षेपकारी भूमिका खेल्न मद्दत पुग्नेछ ।
सन् २०२०, यो परियोजनाको संचालन वर्ष रहेको थियो यद्यपी कोभिड महामारीले ल्याएको संकटकालीन अवस्थामा यो निकै चुनौतीपूर्ण समेत थियो । तर यो चुनौतीपूर्ण समयमा पनि क्लारिसा नेपालले योग्य कर्मचारीहरुको पदपूर्ति, अनलाईन क्षमता अभिवृद्धि तालिमहरु, प्राविधिक सहयोग तथा शिक्षा, आफूजस्तै संघसंस्थाहरु र सरोकारवालाहरुसँग सम्बन्ध स्थापना तथा विस्तार लगायतका कार्यहरु सफलतापूर्वक संचालन गरिसकेको छ । लकडाउनका अवस्थामा पनि कथा संकलनका क्रममा सहभागीतामूलक कार्य अनुसन्धान प्रक्रियाबारे अभ्यास गरेको थियो । फलस्वरुप, सामूहिक सक्रियतामा वयस्क मनोरञ्जन क्षेत्र लगायत विभिन्न निकृष्ट किसिमका बालश्रम गरिरहेका, विभिन्न हिंसा, शोषण र पीडामा परेका बालबालिका तथा किशोरकिशोरीहरुको ३ सय ५० जीवनकथा संकलन कार्य सम्पन्न भैसकेको छ । सन् २०२१ मा पनि यो टीमले २२ जना बालबालिकाहरु(अघिल्लो पटक आफ्नो जीवनकथा भनिसकेका)लाई बाल–अनुसन्धानकर्ताको भूमिकाका लागि तालिम सम्पन्न गरिसकेको छ । अब यीनै बालबालिकाहरुले आफ्ना जोडी साथीहरुसँग मिलेर विभिन्न निकृष्ट प्रकारका बालश्रममा संलग्न थप ५० जना बालबालिकाहरुको जीवनकथा संकलन गर्नेछन् ।
माथि उल्लेख गरिएको सहभागीतामूलक कार्य अनुसन्धान प्रक्रियाबाट हामी विभिन्न निकृष्ट प्रकारका बालश्रमका स्थितीका साथैै चुनौतीहरुकाबारे प्रमाण जुटाउनेछौं । हामी विभिन्न निकृष्ट प्रकारका बालश्रमलाई प्रेरित गर्ने त्यस्ता लुकेर रहेका सामाजिक मूल्य–मान्यता र सांस्कृतिक चलनहरु उजागर गर्नेछौं । अझ महत्वका साथ हामी बालबालिका तथा सरोकारवालाहरुसँग मिलेर त्यस्ता कार्यक्रमहरु विकास गर्नेर्छौ जसबाट निकृष्ट प्रकारका विभिन्न बालश्रमहरु अन्त्य गर्न उपयोगी रचनात्मक समाधानका उपायहरु निस्कनेछन् ।
धन्यवाद